News

  • Home
  • News
  • एरिका गुरुङ - "हिमालयन वारियर"

एरिका गुरुङ - "हिमालयन वारियर"

Arika Gurung - Himalayan Warrior-  नेपाल कराते महासंघले कराते खेलाडी एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपाधिले सम्मान गर्ने घोषणा गरेको छ।

मधेस प्रदेशको निजगढमा सम्पन्न दोस्रो साधारण सभामा यो घोषणा गरिएको हो, जसले एरिका गुरुङको उत्कृष्ट योगदानलाई सम्मान गर्न महासंघको निर्णयलाई औपचारिक रूपमा अनुमोदन गर्यो।

महासंघका कोषाध्यक्ष किशोरप्रसाद भट्टराईका अनुसार साधारण सभाले विश्व कराते महासंघको निर्देशनअनुसार विधानमा आवश्यक संशोधन गर्ने, साथै प्रशासनिक तथा व्यवस्थापनसम्बन्धी नियमावली, कार्यविधि, र निर्देशिका २०८१ अनुमोदन गर्ने निर्णय लिएको छ।

सभाले राष्ट्रिय टिम तयारीका लागि प्रमुख प्रशिक्षक र टिम म्यानेजर सम्बन्धी कार्यविधि, राष्ट्रिय कराते एकेडेमीको कार्यविधि, तथा प्रतियोगिता व्यवस्थापन कार्यविधि पारित गर्ने निर्णय पनि गरेको छ। साथै, महासंघमा रिक्त पदहरू पूर्ति गर्न अध्यक्षलाई मनोनयनको अधिकार प्रदान गरिएको छ।

राष्ट्रिय टिम प्रशिक्षक कुशल श्रेष्ठ, मन्डे काजी श्रेष्ठ, तथा राष्ट्रिय टिम छनोट समिति संयोजक दावा गुरुङ र सदस्यहरूलाई उनीहरूको दुई वर्षे उपलब्धिको सम्मानस्वरूप धन्यवाद ज्ञापन गरिएको छ।

सभाले महासचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। महासंघका अध्यक्ष युवराज लामाले कराते खेलले हासिल गरेको सफलताहरू सबैको योगदानबाट सम्भव भएको उल्लेख गर्दै, भावी योजनाहरू, रणनीतिक कार्यक्रमहरू, र करातेको विकासका लागि आवश्यक पहलहरूबारे धारणा व्यक्त गरे।

यस विशेष कार्यक्रममा सातै प्रदेशका ३५ प्रतिनिधि, विभिन्न कराते संघका १४ कार्यसमिति सदस्य, १७ पर्यवेक्षक, तथा २१ विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।