
५६औं राष्ट्रिय कराँते प्रतियोगितामा बागमती टिम च्याम्पियन
बागमती प्रदेशले ५६औं राष्ट्रिय कराँते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। १५ स्वर्ण, ८ रजत, र १० कास्य पदक हासिल गर्दै बागमतीले समग्रमा टिम च्याम्पियनको स्थान प्राप्त गर्यो। नेपाल कराँते महासंघद्वारा सातदोबाटोस्थित कराँते हलमा आयोजित प्रतियोगितामा नेपाल प्रहरीले १५ स्वर्ण, २ रजत, र ३ कास्य पदक जितेर दोस्रो स्थानमा रह्यो भने कोशी प्रदेशले ११ स्वर्ण पदकसहित तेस्रो स्थानमा स्थान पायो।
प्रतियोगिताको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र आयोजक महासंघका अध्यक्ष युवराज लामालगायतले विजेताहरूलाई पुरस्कृत गरे। तीन दिनसम्म चलेको यो प्रतियोगितामा सातै प्रदेशका साथै प्रहरी, नेपाल आर्मी, एपीएफ र अन्य विभागीय टोलीका करिब ५ सय खेलाडीहरूले सहभागिता जनाएका थिए। आयोजकका अनुसार यो प्रतियोगिता राष्ट्रिय टिमका खेलाडीहरूको लागि महत्वपूर्ण अवसर बन्यो।